दफा ३९
निक्षेप सुरक्षण जोखिम कोष
: (१) निक्षेप सुरक्षण सम्बन्धी दायित्व व्यहोर्न कोष अन्तर्गत एक छुट्टै निक्षेप सुरक्षण जोखिम कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा निक्षेप सुरक्षण कोषमा जम्मा भएको वार्षिक सुरक्षण शुल्क बापतको रकमबाट प्रशासनिक खर्च कट्टा गरी बाँकी रहन आउने रकम जम्मा गरिनेछ ।
(३) उपदफा (२) को प्रयोजनका लागि निक्षेप सुरक्षण सम्बन्धी प्रशासनिक खर्च गर्दा वार्षिक कूल निक्षेप सुरक्षण शुल्कको बीस प्रतिशतभन्दा बढी गर्न पाइने छैन ।
(४) उपदफा (१) बमोजिमको निक्षेप सुरक्षण जोखिम कोषमा रहेको रकम सुरक्षित निक्षेपको दाबी भुक्तानी वा शोधभर्ना गर्न बाहेक कोषको अन्य कुनै प्रयोजनका लागि खर्च गर्न सकिने छैन ।
(५) उपदफा (१) बमोजिमको निक्षेप सुरक्षण जोखिम कोषमा रहेको रकम निक्षेपको दाबी भुक्तानी गर्न अपुग हुने भएमा दफा ३८ को उपदफा (१) को खण्ड (क) बमोजिमको निक्षेप सुरक्षण कोषबाट व्यहोरिनेछ ।
(६) सुरक्षित निक्षेपको शोधभर्नाको लागि तिर्नुपर्ने रकम दफा ३८ को उपदफा (१) को खण्ड (क) बमोजिमको निक्षेप सुरक्षण कोषमा रहेको वित्तीय स्रोतभन्दा बढी भएमा कोषले प्रचलित कानून बमोजिम नेपाल सरकार वा अन्य संघ संस्थाबाट ऋण लिन सक्नेछ ।
(७) नेपाल सरकारसँग लिइने ऋणको ब्याज नेपाल सरकारले जारी गर्ने नब्बे दिने ट्रेजरी बिलको दरभन्दा बढी हुने छैन ।